साबधान ! यस्तो हुन्छ डेङ्गी सार्ने लामखुट्टे (भिडियो सहित)

पोखरा २९ भदौ- नेपालमा अहिले जताततै डेङ्गी रोगको चर्चा छ। केही महिनाभित्र चार हजार मानिसहरू यो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ।

लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेपछि डेङ्गी लाग्छ ।

किटविज्ञान विशेषज्ञका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुन्छ । उपयुक्त वातावरण पाउँदा लामखुट्टेले पारेका फुलहरू वर्षौंसम्म रहिरहन्छन् र पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेङ्गी सार्ने लामखुट्टेले दिउसो मात्र टोक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बास्तोला जलवायुमा आएको परिवर्तनले डेङ्गीको सङ्क्रमण बढ्न सहयोग गर्ने हुँदा गाउँ, घर वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानी छोपेर राख्न, पानी जम्न सक्ने खाल्टाखुल्टी पुर्न, झयालमा जाली लगाउन, लामखुट्टे नष्ट गर्ने अभियान चलाउन, झूल टाँगेर मात्र सुत्न र दिउसोको समयमा घरबाहिर निस्कँदा हात–गोडा छोपिने लुगा लगाउन सुझाउँछन् ।

चिकित्सकहरूका अनुसार डेङ्गीको विशिष्ट उपचार नभए पनि, समयमै पत्ता लगाई उपचार थाले बिरामीमा यसको प्रभाव कम हुनुका साथै सङ्क्रमणमुक्त बनाउन सकिन्छ । यस्तै, डेङ्गीको सङ्क्रमण फैलिरहेका बेला ज्वरो आउने र जीउ दुख्ने जस्ता समस्या देखिएमा आफैंले घरमा उचित मात्रामा सिटामोल सेवन गर्न सकिने तर ब्रुसेट पानोफ्लाम जस्ता पीडा कम गर्ने औषधि नखान चिकित्सकहरूको सुझव छ ।

डेङ्गी रोग के हो, यो कसरी फैलन्छ र यसबाट कसरी जोगिने? डेङ्गीबारे विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधरसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।