यी हुन गर्भवती हुँदा पनि योग गर्ने बलिउडका कलाकार (फाेटाे फिचर)

पाेखरा ३ भदाै- हरेक वर्ष २१ जुनलाई ‘अन्तर्राष्ट्रिय योग दिवस’का रूपमा मनाइन्छ । योग दिवसका अवसरमा कैयौँ कार्यक्रम हुन्छन् । नेपालजस्तै भारतमा पनि विभिन्न कार्यक्रम आयोजना भए । रोचक त के छ भने योग दिवसका अवसरमा विगत केही दिनदेखि भारतीय कलाकारले सामाजिक सञ्जालमा योग गर्दै गरेका तस्बिर र भिडियो सार्वजनिक गर्दै आएका थिए ।

बलिउडका कतिपय अभिनेत्री यस्ता छन्, जसले गर्भवती अवस्थामा पनि योग गरेर आफूलाई फिट राखे । त्यस्ता केही अभिनेत्रीबारे यहाँ प्रस्तुत गरिएको छ । जसले गर्भवती अवस्था र आमा बनिसकेपछि योगा गरेर आफूलाई फिट राखेका छन् ।

लारा दत्ता

गर्भवती अवस्थामा पनि योगा गर्ने बलिउड अभिनेत्रीको सूचीमा लाराको नाम पनि आउँछ । उनी पनि गर्भवती हुँदा योगा गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । लारा अहिले पनि वेलावेलामा योगा गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् ।

करिना कपुर

करिना पनि योगा गर्न रुचाउने नायिकामा पर्छिन् । उनले पनि गर्भवती अवस्थामा योगा गरेको तस्बिर सार्वजनिक भएको थियो । आमा बनिसकेपछि पनि उनले योगालाई निरन्तरता दिएकी थिइन् । करिना नियमित एक्सरसाइज र योगा गर्ने बलिउड अभिनेत्रीमा पर्छिन् ।

शिल्पा शेट्टी

फिटनेसको विषयलाई लिएर सधैँ चर्चामा आइरहने बलिउड नायिका हुन् शिल्पा । प्रायः उनी सामाजिक सञ्जालमा योगा गरिरहेको तस्बिर र भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । योग दिवसको मौका पारेर शिल्पाले मुम्बैको गेट वे अफ इन्डियामा हजारौँ नागरिकसँग योग गरेकी छिन् । तस्बिरमा शिल्पा योगा सिकाइरहेकी देखिन्छिन् । शिल्पा योगसँग लामो समयदेखि जोडिएकी अभिनेत्री हुन् । ‘योगले मेरो जिन्दगी बदलिदिएको छ । मैले मेरो जिन्दगीमा केही पनि योजना बनाइनन्, मात्र जिन्दगीको गतिसँग हिँडिरहेँ,’ योग दिवसका अवसरमा मिडियासँग कुरा गर्दै शिल्पाले भनिन्, ‘योगसँग मेरो सम्बन्ध फरक खालको छ । यो निकै आध्यात्मिक छ । यदि, तपाईं योगसँगै आफ्नो जीवनशैली परिवर्तन गर्न चाहनुहुन्छ भने यसलाई राजनीतिबाट टाढा राख्नुस् ।

सोहा अली खान

सोहा अली खानले सन् २०१७ मा छोरीलाई जन्म दिइन् । उनकी छोरीको नाम इनाया नवमी हो । सोहाले गर्भवती अवस्थामा योगा गरेर आफूलाई फिट राखिन् । यतिसम्म कि उनको योगा गरिरहेको तस्बिर चर्चित भएको थियो । आमा भएपछि पनि उनले योगालाई निरन्तरता दिइरहेको बताइन्छ ।नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति August 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।