लक्ष्मणले अभिनेता आर्यन सिग्देललाई यस्ताे भने

पाेखरा १८ साउन- कुनै पनि कलाकारलाई चिन्न उसको आनीबानी बुझ्न जरुरी छ। मैले धेरै कलाकारसँग काम गरेको छु। उनीहरूलाई नजिकबाट हेरेको छु। तीमध्ये एक हुन्, आर्यन सिग्देल।

उनी मेरा मन पर्ने कलाकार हुन्। आर्यन र मैले तीनटा फिल्ममा सँगै काम गर्‍यौँ। उनी आफ्नो काम दत्तचित्त भएर गर्छन्। फिल्म ‘अलबिदा’ मा उनको काम साह्रै मन पर्‍यो। उनी बेस्ट दिन खोज्छन्। कथाले कस्तो मागेको छ, जस्ताको तस्तै आफूलाई ढाल्न सक्छन्। उनको यो खुबी एकदमै राम्रो लाग्छ। फिल्म ‘कायरा’ मा पनि उनको अभिनय प्रशंसायोग्य छ।

यो फिल्मपछि उनलाई झन् नजिकबाट चिन्ने मौका पाएँ। हामीबीच निर्देशक र कलाकारको मात्र सम्बन्ध छैन। निर्देशक र कलाकारको सम्बन्ध फिल्म बन्दासम्म मात्र हुने पनि हुन्छन्। रियल लाइफमा पनि हाम्रो सम्बन्ध आत्मीय छ। हामी दाजुभाइजस्तै छौँ। उनी प्रायः आफूलाई लागेको कुरा नलुकाई प्रस्ट भन्ने गर्छन्। उनको बोलीवचन त्यस्तै मीठो लाग्छ। कोसँग कसरी बोल्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ।

मीठो बोलीवचन कलाकारको राम्रो गुण हो। यही बानीले गर्दा उनी मलाई साह्रै मन पर्छन्। आर्यनको केही नराम्रा बानी पनि छन्। जसलाई उनले सुधार्नुपर्छ। म प्रायः उनलाई सम्झाइरहेको हुन्छु। उनी धेरै मान्छेसँग घुलमिल गर्दैनन्। उनको यही बानी मलाई अलि मन पर्दैन। मैले आर्यनबाट धेरै कुरा सिकेको छु। उनी अब्बल अभिनेता र असल मान्छे हुन्। स्राेतः अन्नपूर्ण पाेस्ट

प्रकाशित मिति August 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।