भारतीय मिडियामा नेपाली महानायक राजेश हमालको यस्ताे चर्चा

पाेखरा १४ साउन / नेपाली फिल्मका महानायक राजेश हमाललाई भारतीय मिडियाले बलिउड अभिनेता अमिताभ बच्चनसँग दाँजेको छ। भारतको सबै भन्दा विश्वासिलो अनलाइन मानिने आजतकका लागि पत्रकार प्रिया शान्डिल्यले लेखेको समाचारमा उनलाई ‘नेपाली फिल्मको अमिताभ बच्चन’ भनिएको छ ।

समाचारमा हमालको निकै तारिफ गरिएको छ । उनको फिल्म करिअरदेखि बैबाहिक जीवनसम्मको चर्चा गरिएको छ । ‘नेपाली फिल्ममा अमिताभ बच्चनको रुपमा चर्चित अभिनेता राजेश हमाल भारतीयका लागि खासै परिचित अनुहार होइनन् । तर, राजेश नेपालका एक यस्ता सुपरस्टार हुन्, जसलाई त्यहाँको ‘महानायक’ को उपाधि मिलेको छ ।

५५ वर्ष उमेरका राजेशको चार्म नेपालमा त्यस्तै छ, जुन भारतमा अमिताभ र शाहरुख खानजस्ता कलाकारहरुको छ’, आजतकले लेखेको छ । आज तकले नायक राजेश हमालको तस्वीरहरु राख्दै उनको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ। सन् १९८८ मा रिलिज भएको चलचित्र ‘यूग देखी यूगसम्म’बाट नेपाली चलचित्रमा प्रवेश गरेका राजेश हमालले दर्शक माझ गहिरो छाप समेत छाडेका छन् ।

आज तकमा अगाडि लेखिएको छ–‘राजेशको अभिनय र अध्ययनको यात्रा सजिलो भने थिएन । राजेशका पिता चुडाबहादुर हमाल राजदुत थिए । नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रुपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला टेकेका थिए ।

राजेश हमालले चर्चित रियालिटी शो ‘को बन्छ करोड पति’ समेत संचालन गरेको उल्लेख गर्दै आजतकले हमालको लभ लाइफको पनि चर्चा गरेको छ । मधु र राजेशको भेट एक सौन्दर्य प्रतिस्पर्धामा भएको बताए ।

प्रकाशित मिति July 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।