बिहेको निम्तोमै वर-वधुको उमेर खुलाउनुपर्ने

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन। वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने।’ ‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ।

कार्डमै उमेर ढाँट्ने हिम्मत सकेसम्म कसैले नगर्ने स्थानीय तहहरूले अपेक्षा गरेका छन्। यसका लागि एउटा नारासमेत बनाइएको छ, ‘सिन्धुलीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ।’ गएको ६ महिनामा जिल्लामा परिवारको दबाबमा हुन लागेका दुई दर्जनभन्दा बढी बाल विवाह बाल क्लब तथा किशोरी सञ्जालले रोकेका छन्।

बाल संरक्षण नीति बनाएर बाल विवाह न्यूनीकरणका लागि स्थानीय तह लागिपरेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोराले बताइन्। सुनकोसी गाउँपालिकामा मात्र गएको ६ महिनामा १२ वटा बाल विवाह रोकिएको उनले जानकारी दिइन्।

उता हरिहरपुरगढी गाउँपालिकाले यसबारे कडा निगरानी सुरु गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बाल क्लब र किशोरी सञ्जालले विवाह गर्न लागेका केटाकेटीको उमेरसँगै राजीखुसी भए÷नभएको निगरानी राख्न थालिएको अध्यक्ष कार्साङ लामाले बताए। ‘२०७८ भित्र गाउँपालिकालाई बाल विवाहमुक्त बनाउने उद्देश्य छ’, उनले भने।

जिल्लामा रहेका धार्मिक अगुवा, पुरोहितहरुले समेत बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति June 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।