‘नेपाल नाकाबन्दी’का नाइके ‘एस जयशंकर’ अब भारतीय विदेश मन्त्री

नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा केही नयाँ अनुहार थपिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीपछिको वरीयतामा बीजेपी अध्यक्ष अमित शाहलाई राखिएको छ । सम्भवतः उनलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइने छ । त्यस्तै यस पटक निकै चर्चामा रहेका मोदी मन्त्रिमण्डलका सदस्य हुन् भारतका पूर्व विदेश सचिव सुब्रमण्यम(एस) जयशंकर ।

त्यसैले पनि उनले मोदी क्याबिनेटमा विदेश मन्त्रीको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको छ । अघिल्लो कार्यकालमा मोदी सरकारमा विदेश मन्त्री रहेकी सुषमा स्वराज स्वास्थ्य अवस्थाका कारण चुनावमा उठेकी थिइनन् । त्यसैले पनि विश्व मञ्चमा भारतीय कुटनीतिलाई अझ प्रगाढ बनाउन सक्ने व्यक्तिको रुपमा एस जयशंकरलाई चुनिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् ।

एस जयशंकरलाई कुटनीतिक महारथ बुवा के सुब्रमण्यमबाटै विरासतमा प्राप्त भएको हो । उनी भारतका प्रमुख रणनीतिक विश्लेषकका रुपमा चिनिन्छन् ।

सरकारमा आएको आठ महिनाभित्रै मोदी सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर एस जयशंकरलाई नियुक्त गरेको थियो । सुजाता सिंहको नियुक्ति कांग्रेस नेतृत्वको यूपीए सरकारको पालामा भएको थियो । कार्यकाल समाप्त हुनुअघि नै उनलाई मोदी सरकारले हटाएको भन्दै जयशंकरको नियुक्ति विवादमा परेको थियो ।

दिल्लीको सेन्ट स्टिफन कलेजमा अध्ययन गरेका जयशंकरले राजनीति विज्ञानमा एमफिल गरेका छन् । साथै उनले जेएनयूबाट पीएचडीसमेत गरेका छन् । उनी परमाणु कुटनीतिका जानकार मानिन्छन् ।

अन्तराष्ट्रिय राजनीतिक क्षेत्रमा जयंशकर एक कुटनीतिज्ञका रुपमै चिनिन्छन् । भारतीय विदेश सेवामा सन् १९७७ का ब्याचका कर्मचारी रहेका उनको पहिलो पोस्टिङ रुसस्थित भारतीय दूतावासमा भएको थियो । उनी तत्कालीन भारतीय राष्ट्रपति शंकरदयाल शर्माका प्रेस सचिव पनि भएका थिए ।

संविधानसभाबाट नयाँ संविधान जारी हुन लागेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा उनी विक्रम संवत २०७२ साल असोज १ गते नेपाल आएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीसहितका प्रमुख दलका शीर्ष नेतालाई भेटेर संविधान जारी नगर्न दबाब दिएका थिए ।

उनले मधेशी समुदायको सहमति लिएर मात्रै संविधान जारी गर्ने कुरामा अघि बढ्न नेपाली नेताहरुलाई दबाब दिएका थिए । भारतले चाहेको अनुसारको संविधान जारी गर्न उनले दबाब दिए

भारतको प्रस्ताव नमानेकैले नेपालले ६ महिना भारतीय नाकाबन्दीको मार खेप्नु परेको थियो । यस्तो अवस्थामा एस जयशंकरलाई विदेश मन्त्रीमा नियुक्त गरेपछि नेपाल–भारतबीच कस्तो कुटनीतिक सम्बन्ध रहला भन्ने धेरैलाई चासो रहेको छ ।

प्रकाशित मिति May 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।