मेरो ‘रकी’ पाइन्टले सञ्जय दत्तलाई लोभ्यायो अनि उपहार दिए

म यही समय र यही कारणले फेसन कन्सस भएँ भन्ने कुनै विशेष घटनाको याद छैन । तर, म सानो उमेरदेखि नै फेसनप्रति सचेत थिएँ । मैंले गायकका रूपमा कलाकारिता सुरु गरेको हुँ । ु गाएका केही गीत चलेका थिए । बाहिरतिर हिँड्दा धेरै मानिसले चिन्थे । यही कारण पनि थाहै नपाइ चिटिक्क परेर हिँड्ने बानी बसेको थियो । ‘जुनी’ फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेपछि भने बाध्यताले पनि फेसनेवल बन्नु पर्यो ।

गायक हुँदादेखि नै मैले बैंकक र हङकङ गएर सपिङ गर्ने गरेको थिएँ । नेपालमा त्यतिबेला जिन्स पाइन्ट धेरै कमले मात्र लगाउँथे । नेपालमा जिन्स पाइन्टको फेसन भित्र्याउनुमा मेरो पनि योगदान छ भन्ने लाग्छ । सुरुका केही फिल्म बाहेक अरु फिल्ममा मैंले जिन्सको ज्यादा प्रयोग गरेको छु ।

फिल्ममा बलिउडको प्रभाव भएझैं लुगामा पनि नेपालमा बलिउड कलाकारकै प्रभाव थियो । उसबेला चल्तीमा रहेका बेलीबटम पाइन्ट र बाख्राकाने सर्ट मैंले पनि लगाएँ । उसबेला बलिउडका कलाकारभन्दा फेसनमा म चैं कम थिइँन भन्ने लाग्छ । यो कुरा मेरा पहिलाका फिल्म र उति बेलाका बलिउड फिल्म हेर्दा पनि थाहा हुन्छ । एक पटक त मैंले सञ्जय दत्तलाई बैंककबाट डांग्री वा रकी पाइन्ट नै गिफ्ट दिएको छु ।

म ‘जुनी’ फिल्म खेलिसकेपछि ‘सम्झना’ खेलेर यसको डबिङका लागि मुम्बईमा थिएँ । ‘सम्झना’को डबिङ जहाँ भइरहेको थियो, त्यहीँ सन्जय दत्तको कुनै फिल्मको पनि सुटिङ भइरहेको थियो । हाम्रो परिचय भयो । मैंले माथि भने जस्तै रकी पाइन्ट लगाएको थिएँ । सञ्जय दत्तलाई मन परेछ । अर्को पटक मुम्बई आउँदा मलाई पनि यस्तै पाइन्ट ल्याइदेउन भनेर आग्रह गरे । मैंले अर्को पटक जाँदा लगिदिएको थिएँ । खुब खुशी भएका थिए ।

नेपालमा डिंगो बुट र भुवन केसी त पर्याय जस्तै भएका थिए । मेरै प्रभावमा नेपालमा डिंगो बुटले बजार पाएका थिए । डिंगो आज पनि मलाई लगाउन मन पर्छ । यस्तो बुट चैं मैंले इटलीबाट मगाउने गरेको थिएँ ।

प्रकाशित मिति May 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।