तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भनिएको गोप्य पाँच बुँदे सहमति सार्वजनिक भएको छ।
सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।
बुधबार बेलुका नेकपाका अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ‘ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’ भन्दै राजनीतिक वक्तव्य दिएका थिए। लगत्तै दिउँसो गोप्य भनिएको सहमति सार्वजनिक भएको हो।
पत्रकार शुभशंकर कँडेलको पुस्तक ‘नेकपाको एकताका ऐतिहासिक आधारहरु’ पुस्तकबाट सहमति सार्वजनिक भएको हो। कँडेलको पुस्तक केही समय अघि नै सार्वजनिक भए पनि लिखित सहमतिपत्र बाहिर चर्चामा आएको थिएन।
सहमति पत्रमा नेकपा एकता घोषणा हुनु अघिल्लो दिन २०७५ जेठ २ गतेको मिति छ। सहमति पत्रमा नेकपाका हालका महासचिव विष्णु पौडेल र नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पनि हस्ताक्षर गरेका छन्।
सहमतिबारे नेकपाका महासचिव विष्णु पौडेललाई जिज्ञासा राख्दा उनले ‘कुनै टिप्पणी’ नगर्ने बताए।
सहमती पत्र
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।