भारतीय नागरिक नेपालमा सरकारी जागिरे, कपिलवस्तुमा बबण्डर मच्चाउँदै

कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका एकजना कर्मचारी भारतीय नागरिक रहेको खुलासा भएको छ ।लामो समयदेखि आफ्नो भारतीय नागरिकको परिचय लुकाएर कृष्णानगरमा बसोबास गर्दै आएका सकिर अहेमदले कपिलवस्तु जिल्लामा घरजग्गा सम्पत्ति जोडेर बसेका छन् । आर्थिक प्रलोभनमा पारेर नेपाली नागरिकता लिएका सकिर अहेमदले पत्नीसहित घरका सबैलाई नेपाली नागरिकता दिलाएका छन् ।नेपाली नागरिकता देखाएर सकिर अहेमदले कृष्णानगर नगरपालिकामा जागिर खान समेत खाईरहेका छन् ।

सकिर अहेमदको नाममा भारतको उत्तरप्रदेशको लखनउमा लाखौँको सम्पत्ति अहिले पनि छ ।भारतको निर्वाचन आयोगको मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर अहिले पनि छ । मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर ‘युडब्लुपी १४८०६७२’ हेर्न सकिन्छ । यो सूचीमा सकिर अहेमदकी पत्नी नूरजहाँको नाम समेत छ । नूरजहाँको भारतीय मतदाता संख्या ‘यूडब्लुपी १४८०६९८’ रहेको छ ।एक हप्ता अगाडि मतगणनाको अन्तिम रिजल्ट आइसकेको भारतको लोकसभा निर्वाचनमा समेत उनीहरू उत्तर प्रदेश गएर मतदान गरेको खुल्न आएको छ

सकिर अहेमदले भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा आफू र आफ्नी पत्नीको नाम र तस्वीर रहेको स्वीकार गरेका छन् । ‘भारतीय निर्वाचन आयोगको सूचीमा रहेको तस्वीर मेरो र मेरी पत्नीको हो’, दैनिक नेपालसँग भारत र नेपालको दोहोरो नागरिकता लिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘तर हामीले सूचीमा नाम राखेका होइनौँ । विरोधीहरूले हाम्रो नाम र तस्वीर राखिदिएको हो ।’सकिर अहेमदले भने।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले सकिर अहेमदले फर्जी कागज पत्र पेस गरेर नेपाली नागरिकता लिएको बारेमा उजुरी नआएको बताए । ‘व्यक्तिले नेपाली नागरिकता कसरी ? कुन आधार प्रमाणका रुपमा लिएको छ ? त्यो कुरालाई हामीले हेर्ने हो’, उनले भने, ‘कुनै विदेशी नागरिकले गलत आधार र प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको छ भने कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी पोखरेलले दोहोरो नागरिकताका लिएको विषयमा पहिला कृष्णानगर नगरपालिकामा उजुरी दिन र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिन सल्लाह दिएका छन् । ‘अख्यिारको काम गर्ने अधिकार मलाई हुँदैन’, उनले भने, ‘मैले हेर्ने भनेको कसरी ? कुन आधार प्रमाणमा नागरिकता लिइएको छ त्यसलाई छानविन गर्ने हो ।’कृष्णानगर र शिवराज नगरपालिकामा करोडौँको सम्पत्ति जोडेर राखेका भारतीय नागरिक सकिर अहेमदले दुई वटा पेट्रोल पम्म चलाउने तयारीसमेत गरेका छन् ।

प्रकाशित मिति May 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।