शिक्षासेवी एवं साहित्यकार कुँवरको ‘जीवन कथा’ लोकार्पण

४ फागुन – पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण गरिएको छ । पोखरा–१४, मझेरीपाटन निवासी कुँवरको ७५ औं जन्मोत्सव अवसरमा उनको स्वर्गवारी निवासमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पुस्तक विमोचन गर्दै पुस्तकले उनलाई अझ नजिकबाट चिन्ने अवसर मिल्ने बताए ।

वरिष्ठ फिजिसियन समेत रहेका प्राडा थापाले कुँवरको नियमित स्वास्थ्य जाँच गरेको स्मरण गर्दै साहित्यिक कर्ममा लाग्ने उत्प्रेरणा मिलोस् भनी दीर्घायुको कामना गरे ।पोखराको शिक्षा, साहित्य, पत्रकारिता, राजनीतिक तथा समाजसेवामा योगदान पु¥याएका कुँवरका यसअघि ७ पुस्तक पाठकसमक्ष आएका छन् ।

यसअघि उनको जीवनीसंग्रह प्रकाशित भैसकेकोमा ‘जीवन कथा’ भने आत्मवृतान्तमा आधारित छ । स्रष्टा कुँवरले ७५ वर्षको उमेरकालसम्म भोगेका विभिन्न घटनाक्रम, विगतको वस्तुस्थिति लगायतबारे झण्डै सय शीर्षकमा मिहिन ढंगले समेटेका छन् ।

स्रष्टा कुँवरले सम्पूर्ण विषयवस्तु यथार्थ घटनामा आधारित रहेर लेखेको हुँदा सबैको लागि उपयोगी हुने दाबी गरे ।पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र अलौकिक कवि देशभक्तसिंह कुँवरले पुस्तक सम्पादन गरेको पुस्तक ३१० पृष्ठको छ ।

अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा समालोचक मदन भण्डारी, निवृत्त शिक्षक समुदाय कास्कीका पूर्व अध्यक्ष तोयनाथ लामिछाने, समाजसेवी जेबी कुँवर, रोमबहादुर कार्की, पुस्तक सम्पादकहरु विजय नेपाल, कमलराज ढुंगाना, देशभक्तसिंह कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चारकर्मी तिर्सना गुरुङ र सञ्चालन गीतकार सुमन श्रापितले गरेका थिए ।

सो अवसरमा आयोजकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा थापालाई स्वास्थ्य सेवामा पुयाएको कदर गर्दै सम्मान गरेको थियो । श्रीपञ्चमीकै दिन जन्मिएका कुँवरको जन्मदिन अवसरमा सरस्वती पूजा, नारायण पूजा, लाखबत्ती गरिएको थियो ।

प्रकाशित मिति February 16, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।