बिप्लवको सिंहदरबारमा बम पड्काउने योजना असफल भएपछि…

नेत्रविक्रम चन्दको समूहले सिंहदबारको गेटमा सोमबार बिहानै ठूलो विस्फोट गराउने योजना विफल भयो । त्यो बम आत्मघाती ढंगले नपड्किएको भए सिंहदरबारको गेटमा विस्फोट गराउने तयारी थियो । योसँगै वार्ताको चर्चा फेरि सुरु भएको छ । विशेषगरी सहर केन्द्रित हिंसामा लागेको चन्द समूहले नेपाल बन्दको घोषणासँगै ठूलो विस्फोट गरी सिंहदबारलाई कम्पन गर्ने तयारीमा थियो। चन्द समूहका एक उच्च नेताका अनुसार सिंहदरबार उत्तरी गेट नजिकै एक निजी घरमा बम बनाउँदै गर्दा विस्फोट नभएको भए, सिंहदबारको पर्खालमा पड्काउने योजना थियो। अर्को बम नेकपा मुख्यालय नजिक सुकेधारमा पड्किएको थियो।

त्यो बम नेकपा मुख्यालय केन्द्रित भएको थियो। आफ्नै विस्फोटमा परी चारजना कार्यकर्ताको मृत्यु भएको थियो।
त्यसबाट चन्द समूहले दुई राजनीतिक फाइदा हेरेको थियो– पहिलो, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा ठूलो विस्फोट गरी धक्का दिने। दोस्रो, विस्फोट र आगजनीका घटनाले राजनीतिक प्रचारलाई उचाइमा पुर्‍याउने। भोजपुरमा प्रहरीले गोली हानी एक कार्यकर्ताको हत्या गरेको भन्दै सुसुप्त रहेको चन्द समूहले देशव्यापी विस्फोट र आगजनीका श्रृंखला चलायो।

सरकारले चन्द समूहका राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाए पनि उक्त समूह खासगरी सहर केन्द्रित भूमिगत गतिविधि गरिरहेको छ। यसबारे सरकारलाई जानकारी भएपनि विस्फोट, आगजनी भएपछि तात्ने उसको पुरानै बानी हो।

यही सन्दर्भमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहले सशस्त्र सेना बनाउने जानकारी संसदमा जानकारी दिएर विद्रोहीको मान्यता दिए। चन्द समूहसँग सेना र हतियार भएको गृहमन्त्रीले पुष्टि गरेपछि समस्या घट्ने होइन, बढ्ने देखिन्छ। अब सरकारले चन्द समूहलाई नियन्त्रण गर्न हतियारसहित सुरक्षा निकाय परिचालन बढाउनुपर्ने हुन्छ। त्यसो गर्दा कतिपय स्थानमा अनावश्यक प्रहरी दमन हुन्छ। अनावश्यक प्रहरी दमनले सर्वसाधारण पीडित भए पनि विद्रोहको जन्म त्यहीबाट हुने खतरा हुन्छ।

गृहमन्त्री थापा पूर्व विद्राहीको नेता भएको हुनाले चन्द समूहको गतिविधिबारे राम्रो जानकार छन्। उनले बल प्रयोग नगरी समस्या समाधान नहुने अवस्था देखे भने समस्या अझ बढ्न सक्ने छ।

स्रोतका अनुसार नेकपा केही नेताले चन्द समूहका नेताहरुसँग अनौपचारिक रुपमा कुराकानी गरिरहेका छन्। योसँगै सरकारले चन्द समूहका कार्यकर्तालाई देशव्यापी गिरफ्तार गरिरहेको छ। यही अवस्थामा वार्ताको वातावरण बन्ने अवस्था छैन। सरकार झुकाउन खोज्ने, चन्द समूह नझुक्ने अवस्थामा वार्ताको ढोका खुल्न समस्या हुनेछ। नेकपाका नेता जनार्दन शर्माले वार्ताको लागि वातावरण बने आफू सहजीकरण गर्ने बताएका छन्। सरकारले गठन गरेको वार्ता टोलीले चन्द समूहसँग औपचारिक वार्ता गर्न सकेन।

चन्द समूहले यही गणतान्त्रिक व्यवस्थामा सुशासनसहित समृद्धि खोज्नु पर्ने उनको सुझाव छ। ‘बेलैमा वार्ता भएन भने समस्या झन् बढ्न सक्छ। गणतन्क्र विरोधी शत्तिलाई फाइदा पुग्न सक्छ’ उनको भनाइ छ।

वार्ताबाट समस्या समाधान गर्न यतिबेला नागरिक समाज जाग्नु पर्ने उनको बुझाइ छ। ‘समस्याको समाधान वार्ताबाटै खोज्ने गरी दबाब आवश्यक छ’ उनले भने, ‘अब द्वन्द्वतिर लाने काम कसैले गर्नुहुँदैन।’

प्रकाशित मिति May 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।