सर्टिफिकेट धितो राखेर ऋण दिने योजना गफ मात्रै, जम्मा ६ जनाले पाए २५ लाख

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो । जुन निकै चर्चामा समेत आयो । सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए ।

तर, बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षामा जम्मा ६ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको उल्लेख गरिएको छ ।

यस्तै बजेटमा भएको विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी व्यवसाय गर्न १० लाखसम्म ऋण उपलब्ध गराउने योजनाबाट जम्मा ११ जनाले ७८ लाख १० हजार रुपैयाँ ऋण लिएका छन् ।

यस्तै दलितहरुलाई सामूहिक जमानीमा १० लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिने योजनाबाट १५ समूहले ७८ लाख ७१ हजार रुपैयाँ ऋण लिएका राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति May 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।