कुर्सी तोडफोड काँग्रेसको नीति र संस्कृति विपरीत छ : प्रवक्ता शर्मा

नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेशसभामा आफ्ना सांसदबाट भएको कुर्सी तोडफोड पार्टीको नीति तथा संस्कृति विपरीत भएको बताएको छ ।

सोमबार साँझ ट्विट गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताए ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल काँग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको थियो । काँग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो।

सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस सांसदहरूले कुर्सी तोडफोड समेत गरेका थिए । पार्टी प्रवक्ता शर्माले भने कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको बताए ।

शर्माले ट्विटमा लेखिएको छन्, ‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।’

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि काँग्रेसका लागि रोजाइको पद्धति भएको भन्दै परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने काँग्रेसको कर्तव्य भएको शर्माको भनाइ छ ।

प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई छिटपुट भनेर नछोप्ने भन्दै कठोरतापूर्वक सच्याएर बढ्ने समेत बताएका छन्।

प्रकाशित मिति October 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।