राजा त्रिभुवनको श’वमा भारतीय राष्ट्रिय झन्डा !

कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।

राजा त्रिभुवनको शवमा भारतीय राष्ट्रिय झन्डा !
दिल्लीमा त्रिभुवनलाई श्रद्धाञ्जली दिँदै जवाहरलाल नेहरु ।

सार्वजनिक आर्काइभमा भेटिने राजा त्रिभुवनको स्वीट्जरल्यान्डमा हृदय रोगको उपचार, त्यहाँ उनको नि’धन र जुरिचबाट नेपालसम्मको उनको पार्थिव शरीरको यात्राबारे तत्कालीन समयमा प्रकाशित एवं प्रसारित स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका छापा एवं भिडियो समाचारका आधारमा यो लेख तयार पारिएको छ ।

नेपालको शाह वंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय झन्डै साढे चार दशकसम्म नेपालका राजा रहेका त्रिभुवन विदेशी भूमिमा मृ*त्युवरण गर्ने हालसम्मका एक मात्र राष्ट्राध्यक्ष हुन् ।

मुलुकको सम्पूर्ण शासन सत्ताको बागडोर आफ्नो हातमा लिएका राणा शासकबाट राजदरबारको संकुचित दायराभित्र सीमित गरिने व्यवस्था नेपालमा शताब्दीभन्दा लामो समयसम्म कायमै रह्यो । त्यसलाई तोड्न विसं ००७ मा उठाएको कदमका कारण पनि छोटो समयमै राणाको पतन र प्रजातन्त्र स्थापना भएकाले लोकतन्त्रप्रेमीका लागिसमेत नेपाली इतिहासमा उनको सम्मानजनक स्थान छ ।

संसारभर औपनिवेशिक शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको सुरुआत हुन लागेको समय सन् १९५० को दशकमा अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमबाट समेत नेपालमा प्रजातन्त्रको जग बसाल्ने श्रेय उनले प्राप्त गरे ।

राजा त्रिभुवनले सन् १९४४ को अन्त्यतिर जुद्धशमशेरका पालामा उनका छोरा बहादुरशमशेरको कडा निगरानीमा पहिलो पटक नेपालभन्दा बाहिर उपनिवेशकालीन भारतको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । त्यसपछि पनि एकाध पटक उनी औषधोपचारका लागि भर्खरै स्वतन्त्र भएको भारतमा जाने गरेका थिए ।

राणाशासनविरुद्ध ००७ को आन्दोलन चल्दै गर्दा उनी सन् १९५० को नोभेम्बरमा पहिले काठमाडौँस्थित भारतीय दूतावासमा शरण लिएर अनि भारत सरकारको अतिथिका रूपमा करिब चार महिना दिल्लीमा बसेका थिए । दिल्लीमा अतिथि नै रहेकै बेला प्रथम गणतन्त्र दिवस समारोह सन् १९५१ को जनवरी २६ मा उनी त्यहाँ भारत सरकारको प्रमुख अतिथिका रूपमा समेत सहभागी भएका थिए । त्यतिबेला व्यक्तिगत रूपमा समेत राजा त्रिभुवन र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुबीचको सम्बन्ध प्रगाढ रहेको पाइन्छ ।

क्यान्टस अस्पतालमा राखिएको त्रिभुवनको स्मृति धातुपत्र । ००७ को राजनीतिक परिवर्तनपछि पनि उनी बारम्बार भारत गइरहन्थे । कैयौँ पटक उनी लामो समयसम्म कलकत्ताको नाइटक्लबमा रमाइरहँदा प्रधानमन्त्री नेहरुले नेपालका प्रधानमन्त्रीलाई पत्र नै लेखेर त्रिभुवनको उक्त व्यवहारप्रति गुनासो गर्दै उनलाई सचेत गराउनसमेत सुझाउँथे ।

हृदय रोगको समस्या देखापरेपछि र भारतमा समेत उनको उपचार सम्भव नदेखिएपछि हावापानी पनि बदल्ने र आधुनिक पद्धतिबाट गुणस्तरीय उपचार गर्ने भन्दै उनले पहिलो पटक सन् १९५३ सेप्टेम्बरमा स्वीट्जरल्यान्डसम्मको यात्रा गरेका थिए । त्यहाँ केही समय बिताएपछि निको भएर नेपाल फर्किएका थिए (स्वीस अखबार ओबरल्याडर ट्यागब्ल्याट, १९, सेप्टेम्बर १९५३) ।

नेपाल फर्किएको केही महिनालगत्तै उनलाई हृदय रोगले फेरि चाप्दै लगेपछि सन् १९५४ को अक्टोबरमा थप गुणस्तरीय औषधोपचारका लागि अमेरिका जान चाहेका थिए । सन् १९५२ मा जारी भएर लागू भएको अमेरिकी अध्यागमन कानुनअनुसार दुवै श्रीमतीका साथ जान चाहेका त्रिभुवनलाई बहुविवाहका कारण अमेरिकाले भिसा दिन अस्वीकार गर्‍यो । त्यसपछि उनी उपचारका लागि सोही नोभेम्बरमा पुन: स्वीट्जरल्यान्ड पुगे (द डेली स्पोक्समेन, १४, अक्टोबर १९५४) ।

प्रकाशित मिति March 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।