वेदव्यास जन्मेको भूमिलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

ग्रन्थका लेखक वेदव्यास जन्मेको भूमिलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने पहल थालिएको छ । धेरै सम्भावना बोकेर पनि पूर्वाधार विकास एवं प्रवद्र्धनको अभावमा पछि परेको वास्तविकतालाई ध्यानमा राखेर व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले यसको उजागर गर्दै यो स्थललाई धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा अघि बढाउन लागेको हो ।

विस्तृत परियोजना प्रतिवेदन एवं गुरुयोजना तयार पारेर यस क्षेत्रमा १०८ फिट उचाइको भगवान् वेदव्यासको मूर्तिसहितका विभिन्न संरचना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । “भगवान् वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमञ्चमा चिनाउँदै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यहाँको ७२ रोपनी क्षेत्रफललाई समेटेर करिब रु ६४ करोडको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण गर्न लागेका छौँ ।”

परियोजना प्रतिवेदनअनुसार ४० फिट अग्लो तीन तल्ले भवन माथि १०८ फिटको व्यासको मूर्ति राखिनेछ । तीन तल्ले भवनमा भित्र पुस्तकालय, अडिटोरियम हल, वाचनालयलगायतका विभिन्न संरचना निर्माण हुनेछन् । निर्माण शुरु गरेपछि चार वर्ष समयावधिमा काम सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

वेदव्यासको जन्म तथा कर्म भूमि यस स्थलमा विशाल मूर्तिसहितका संरचना निर्माण भएसँगै यो अन्तरराष्ट्रियरुपमा नै आकर्षक पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो । लक्षित परियोजनालाई साकार पार्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उहाँले यसको प्रारम्भस्वरुप यही माघ २० देखि २८ गतेसम्म सत्यवती पार्क दमौलीमा श्रीमद् भागवत सप्ताह विराट ज्ञान महायज्ञ गर्न लागिएको जानकारी दिनुभयो ।

पर्यटकीय नगरी पोखराबाट जम्मा ४८ किलोमिटर दूरीमा रहेर पनि ऐतिहासिक, धार्मिक एवं पर्यटकीय यो अझै ओझेलमा परेको कोषका प्रमुख संरक्षक काशीनाथ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार २८ औँ व्यासावतार श्रीकृष्ण द्वैपायन दमौलीमा अवतरित हुनुभएको पुराण तथा ग्रन्थमा उल्लेख छ ।

विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार सेती र मादी नदीको सङ्गमस्थल वयरघारी वनयुक्त द्वीपमा महर्षि पराशरको अंश र सत्यवतीको कोखबाट श्री कृष्णद्वैपायनको जन्म भएको र जन्मनासाथ आमाको अनुमतिले चिरकालसम्म तपस्या गरी तपस्वीका रुपमा रहनुभएको हो ।

वेदव्यासको जन्मभूमि भएर पनि यसको प्रचारप्रसार हुन नसकेको वास्तविकतामा १०८ फिटको भगवान् वेदव्यासको मूर्तिसहितका संरचना निर्माणसँगै यो क्षेत्र महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलका रुपमा विकास हुने विश्वास लिइएको छ । यस आसपासका पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्डजस्ता धेरै स्थलले पनि यहाँको धार्मिक एवं ऐतिहासिक महत्वलाई उजागर गरेको छ ।

व्यास क्षेत्रको विकाससँगै यस आसपासका महत्वपूर्ण पर्यटकीयस्थल तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थल, शिखर कटेरी, ऋषिङ रानीपोखरीलगायतकोे समेत विकास हुने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकले मादी सेती जलविहार, पदयात्रा, गुफा अवलोकनका साथै घरवास (होमस्टे)मा गएर स्थानीय संस्कार र संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न पाउँछन् ।

तनहुँमा देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोले देवी, तनहुँकालिका, अकलादेवीलगायतका धार्मिकस्थल पनि छन् । यहाँका टुटेपानी, मिछुर्लुङ, हिलेखर्क, छिम्केश्वरी, धरम्पानी, नाबरुङ्ग, रानागाउँ, थप्रेक, रघु, छापथोक नमूना गाउँ, तनहुँसुर, दगाम÷भुजिकोट, पिपलथोक, रामकोट गाउँमा घरवास सञ्चालनमा आइसकेको छ।

व्यास क्षेत्रसहित यहाँको पर्यटकीय विकासले कास्की, स्याङ्जा, बागलुङलगायत समग्र प्रदेशको पर्यटकीय विकासमा समेत योगदान पुग्ने तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले बताउनुभयो । धेरै सम्भावना बोकेर पनि वेदव्यासको जन्मस्थल पछि परेको वास्तविकतामा लक्षित परियोजना सम्पन्न गरेसँगै यसले राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा चासो र चर्चा पाउने पर्यटनविज्ञ श्रीकान्त खतिवडाको भनाइ छ ।

धर्म र पर्यटनलाई जोड्दै यो स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि लक्षित परियोजना सफल बन्नुपर्ने नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो । व्यास क्षेत्रले समग्र तनहँुको गरिमा र महत्व बढाएको बताउने तनहुँ सम्पर्क समाज पोखराका पूर्वअध्यक्ष चन्द्रविक्रम अधिकारीले विशाल मूर्तिसहितका संरचना निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।