फेवातालमा ६५ मिटरभित्रको संरचना १५ दिनभित्र हटाउन सूचना

पोखराः अतिक्रमणमा परेको फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिका विशेष अभियान सुरु गरेको छ । यही क्रममा महानगरले १५ दिनभित्र तालको ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउन बिहीबार सूचना जारी गरेको छ । पोखरा–१७ ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टीको ६५ मिटर मापदण्डभित्र बनेका संरचना भत्काउन महानगरले सूचना जारी गरेको हो । ताल संरक्षणको लागि १६ वैशाख ०७५ मा सर्वोच्च अदालतले संघीय सरकारलाई मुआब्जाको व्यवस्था गर्न, प्रदेश सरकारलाई सीमांकन र स्थानीय तहलाई संरक्षण गर्नेगरी जिम्मेवारी दिएको थियो ।

६५ मिटरभित्रको संरचना हटाउन सूचना जारी गरेको महानगरलाई फेवाताल अतिक्रमण गरी कति घरटहरा बनेका छन् भन्ने सामान्य जानकारीसमेत छैन । महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘अहिले थाहा छैन । केही दिनपछि थाहा भइहाल्छ नि ।’ घरको संख्या मात्रै होइन फेवातालको सिमाना कहाँसम्म हो भन्ने जानकारीसमेत महानगरलाई छैन । प्रवक्ता नेपालीले सर्वोच्चले फैसला गरेको छ नि अनि कुन कुन स्थानमा कति कति भाग पर्छ प्राविधिकले छुट्याउने बताए ।

प्रकाशित मिति May 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।