राजेश हमालका कारण बढेन रमितको उमेर

पाेखरा २९ पुस- २०६१ सालमा फिल्म ‘माया नमार’ बाट डेब्यू गरेका अभिनेता रमित ढुंगानाले झन्डै एक दशक नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरे । उनको प्रवेश हुँदा नेपाली फिल्ममा निखिल उप्रेती, विराज भट्ट, राजेश हमालको बोलबाला थियो । यसबीच पनि उनले आफूलाई बलशाली अभिनेताको रुपमा प्रमाणित गरे । एक समय उनलाई फिल्ममा लिन निर्माताहरुबीच हानाथाप हुन्थ्यो ।

अहिले उनको क्रेज पहिला जस्तो छैन । यो कुरा उनले पनि बुझेका छन् । कुनै जमाना उनलाई फिल्ममा लिन महिनौं कुर्ने फिल्मकर्मीहरु अहिले नयाँ पुस्ताका कलाकारहरुको पछाडि दौडिएका छन् । दर्शकले उनलाई नविर्सिए पनि निर्माता-निर्देशकले फिल्मका लागि भने उनलाई सम्झन छाडेका छन् । हुनत, अघिल्ला पुस्ताका प्रायः कलाकारहरु अहिले फिल्मविहीन नै छन् ।

‘माया नगर’, ‘जीवन दाता’, ‘देवर बाबु’, ‘मन परेपछि’, ‘मुग्लान’, ‘धड्कन’ लगायत चार दर्जन बढी फिल्ममा अभिनेता रमित ढुंगाना पछिल्लो पटक फिल्म ‘बुद्ध वर्न इन नेपाल’ मा देखिएका थिए । यो फिल्म प्रदर्शनमा आएको ४ वर्ष भैसकेको छ । ठूलो लगानीमा पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रामक गर्दाको कथालाई पर्दामा उत्रार्न लागेका उनी चाँडै फिल्म ‘राजा साहेब’ गर्दैछन् ।

१९ वर्षको हुँदा ‘माया नमार’ बाट डेब्यू गरेका उनले आइतवार आफ्नो जन्मदिन मनाए । तर, उनले आफ्नो उमेर खुलाएनन् । ‘मैले १६ वर्षको हुँदा बिहे गरेको थिएँ । १८ वषको हुँदा छोरा जन्मिएको हो । २०६१ सालमा ‘माया नमार’ गर्दा म १९ वर्षको थिएँ । अब उमेर आफैं अनुमान गर्नुस्,’ उनले भने । अभिनेता राजेश हमालको उमेर नबढेसम्म आफ्नो पनि उमेर नबढ्ने उनी बताउँछन् ।

अभिनेता हमाललाई आफ्नो गुरु मान्ने रमित अगाडि भन्छन्, ‘राजेश दाईलाई म गुरु मान्छु । पहिलो फिल्म नै उहाँसँग गरेको थिएँ । उहाँको उमेर २५ वर्षभन्दा नबढ्ने रैछ अनि मेरो कसरी बढाउन मिल्छ ? म उहाँभन्दा धेरै जुनियर हुँ । मैले मेरो उमेर खुलाए भने गुरुको कुरा काटेको हुन्छ । त्यसैले अहिलेसम्मलाई मेरो उमेर १९ राखौं । राजेश दाईको उमेर बढेपछि मेरो पनि बढाउला ।’

‘माया नमार’ को सिक्वेलबाट अभिनेता रमित ढुंगाना आफ्नो छोरालाई डेब्यू गर्ने तयारीमा छन् । छोरा र पितालाई सँगै देख्न पाइएला ? भन्ने प्रश्नमा रमित भन्छन्, ‘कथाले माग्यो भने म पनि खेल्नेछु । तर, अहिले मैले अभिनय गर्ने वा नगर्ने विषयमा कुनै टुंगो लागेको छ । र, यो फिल्म अहिले बन्ने पनि होइन । छोराको अध्ययन पूरा भएपछि निर्माण हुन्छ । अझै ५ वर्ष फिल्म निर्माण हुँदैन ।’

प्रकाशित मिति January 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।