अब आउने भयो ‘पर्खिबसेँ २’

पाेखरा २५ पुस- गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ‘पर्खिबसें’ को नयाँ सिरिज आउने भएको छ। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेको हो। गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच बिहीबार सहमति भएको हो।

२०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘पर्खिबसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्ममा कथा पनि उनकै रहनेछ। पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए। फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ।

फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ। यसको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो। १३ वर्षपछि यसको दोस्रो सिरज आउन लागेको हो। फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन्।

यो फिल्म अगामी वर्ष रिलिज गर्नेगरी तयारी भइरहेको बताइएको छ। हिट फिल्मको सिरिज निर्देशन गर्न पाउनु आफूलाई अवसर र चुनौति दुबै भएको निर्देशक चौधरीले बताए। उक्त समयमा यसको गीतसंगीतलाई दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो। गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जाँदैछ। त्यसपछि यो टिमको ‘पर्खिबसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ।

याे पनि पढ्नुहाेस्ः
चेतकी प्रज्ञा सम्मान प्राध्यापक जगमान गुरुङलाई

चेतकी प्रज्ञा सम्मान (पुरस्कार) २०७६ संस्कृति तर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ। यस्तै, इतिहासतर्फको पुरस्कार ‘संशोधन मण्डल’लाई प्रदान गरिएको छ। यो सम्मान संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गरे। यी दुवै सम्मान (पुरस्कार) को राशि ५०/५० हजार रुपैयाँ छ।

चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता बिहीबार आयोजित समारोहबीच प्रदान गरिएको हो। बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यो पुरस्कार प्रदान गरेका हुन्। सो अवसरमा जोशीले भाषा–साहित्य, संस्कृति, कला र इतिहासको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षित गरे।

चेतकी प्रज्ञा–सम्मान–२०७५ हिन्दू धर्म–दर्शन तर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ललितकला–२०७४ तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, बौद्ध धर्म–दर्शन –२०७३ तर्फ संस्कृतिविद प्रा.डा. शङ्कर थापा तथा नेपाली भाषा साहित्य– २०७२ तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ। यी चारवटै सम्मान–पुरस्कारको राशि रु. ३०/३० हजार रहेको छ।

त्यस्तै सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधानसम्पादक चेतनाथ धमलालाई प्रदान गरिएको छ। साथै, सो पुरस्कार–२०७५ का लागि ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ लागि ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ का लागि ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ का लागि ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ। यी पाँचवटै पुरस्कारको राशि रू. ३०÷३० हजार रहेको छ।

त्यसैगरी चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति त्रि.वि., लिटल एन्जेल्स उमावि, बुढानीलकण्ठ उमावि, देउराली प्रा.वि., लेले र ज्ञान प्रकाश उमावि ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीलाई ४१ हजार राशिको छात्रावृत्ति सो प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा. विद्याधर शर्मा भट्टराईले प्रदान गरेका थिए।

प्रकाशित मिति January 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।