नेपाली ब्रान्ड ‘गोल्ड स्टार’को विदेशमा लोभलाग्दो व्यापार

‘हात्ती बलियो कि हात्ती छाप चप्पल?’ भन्ने विज्ञापन नसुन्ने नेपाली कमै होलान्। सस्तो, आकर्षक र बलियो विशेषता बोकेको ‘गोल्ड स्टार जुत्ता’ को नक्कल गर्दै कारोबार गर्ने उद्योगीहरु पनि कम छैनन्। केही समय अगाडि विदेशबाट ल्याएको जुत्तामा ‘गोल्डस्टार’ को छाप हान्दै जुत्ता उद्योगीहरुले बिक्री गर्ने गरेको चर्चामा आइरहन्थ्यो।

अत्यधिक नेपालीले रुचाएको चप्पल–जुत्ता उत्पादन गर्ने कारखाना चक्रपथको ‘चप्पल कारखाना’ नै हो। पछिल्लो समयमा नेपालबाट निर्यात हुने बस्तुमध्येको एक हो यसै कारखानाको जुत्ता चप्पल। यो जुत्ता–चप्पलले ठाउँको नाम नै राखिदिएको छ। हात्तीछाप चप्पल र अर्को चर्चित जुत्ता गोल्डस्टारको कारखाना भएकै कारण चक्रपथ नजिकैको नाम ‘चप्पल कारखाना’ भनेर चिनिएको छ। पछिल्लो समयमा भने यसको नाम ‘किरण सुज म्यानुफ्यक्चर्स प्रालि’ राखिएको छ।

आजभन्दा ४० वर्ष अगाडि हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट शुरु भएको कम्पनी केही वर्षपछि काठमाडौंमा सारिएको थियो। हेटौंडामा छँदा कम्पनीले चप्पलमात्र बनाउथ्यो। सञ्चालनमा आएको १५/१६ वर्षपछि जुत्ता बनाउन थालिएको किरण सुज म्यानुफ्याक्चर्स प्रालिका मार्केटिङ एन्ड ब्रान्डिङ डाइरेक्टर विदुषी राणाले बताइन्।

नेपालमा गोल्डस्टार जुत्ता एकदमै पपुलर भएपछि कम्पनीलाई डाउन गर्नका लागि केही जुत्ता उद्योगहरुले नक्कली गोल्डस्टार जुत्ता बनाइ बिक्री गर्न थाले। त्यसले गर्दा बजारमा घाटा हुन थाल्यो। डाइरेक्टर राणाले भनिन्, ‘चीनबाट ल्याएका जुत्ताहरुमा गोल्डस्टारको स्टिकर टाँस गरेर केही उद्योगीहरुले बिक्री गर्न थाले। त्यसले हामीलाई निकै घाटा बनायो, हामीले मुद्दा हाल्यौं र हाम्रै पक्षमा फैसला भयो। त्यसपछि ती उद्योगीहरुले गोल्डस्टारको नक्कल बन्द गरे।’

व्यापार विस्तार गर्दै किरण सुज म्यानुफयक्चर्स प्रालिले नेपाल भरि ३२ वटा शोरूम सञ्चालन गरेको छ। मान्छेले जुत्ता नै पाउँदैन, ‘गोल्डस्टार नाम सुनेको छु, कहाँ पाइन्छ’ भनेर सोध्दै आएका कारण गोल्ड स्टारका उत्पादन भाटभटेनीका सबै ठाउँमा राखेको उनले बताइन्।

किरण सुज म्युनुफ्यक्चर्स प्रालिले आफ्नो लागि मात्र होइन देशलाई पनि ठूलो सहयोग गरेको छ। प्रत्यक्ष रुपमा ३ हजार जनालाई रोजगार दिइरहेको छ। वार्षिक करोडौंको रुपमा कर तिर्ने गर्छ। त्यसैले सबैले मेहेनतले गरि कम्पनी अगाडि बढेको बताइन्।

पछिल्लो समय कच्चा पदार्थ आयातमा समस्या भएको कारण केही मजदुरहरु हजार मजुदर बराबर घटेका छन्। उनले भनिन्, ‘ताइवान, चीन, इटालीबाट कच्चा पदार्थ ल्याउथ्यौं तर, अहिले कच्चा पदार्थ आयातमा समस्या भएका कारण मजदुर पनि घटिरहेका छन्। अहिले सेल्स घटिरहेको र मार्केट डाउन भएका कारण हजार जना मजदुर घटेका छन्। महिलाहरु मात्र ११ सय भन्दा बढी छन्।’

नेपालको उत्पादनलाई रुचाएर विदेशीहरु पनि लोभिएका छन्। ‘हात्तीछाप चप्पल’ र ‘गोल्डस्टार जुत्ता’ कम्पनीको उत्पादनको करिब आधा भाग नै भारतमा बेचिन्छ। अरु छिमेकी देशहरुमा पनि बिक्री भइरहेको उनले बताइन्। विदेशमा जाने नेपालीहरुले त जुत्ता चप्पल यतैको लगेर जान्छन्। यसरी लगेको जुत्ता–चप्पल त्यो ठाउँमा लोभलाग्दो भएकाका कारण अब अष्ट्रेलियाको सिड्नीमा शाखा सञ्चालन गर्ने तयारी भइरहेको डाइरेक्टर राणाले बताइन्।

पाल्पाका नुरप्रताप (जंगबहादुर) राणाले मकवानपुरको हेटौंडा हुँदै काठमाडौंमा उद्योग चलाएको हुन्। केही वर्ष अगाडि उनको निधन भएपछि उनका छोरा अमिर प्रताप राणा र बुहारी बिदुषी राणाले कम्पनी सम्हाल्दै आएका छन्।

Save

प्रकाशित मिति May 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।