कसको प्रेममा पागल भए प्रदीप ?

पाेखरा- याे समय भने जो कोहीका लागि प्रेम अभिव्यक्त गर्ने सजिलो माध्यम बनेको छ, सामाजिक सञ्जाल । आम सर्वसाधारण हुन् वा सेलिव्रेटी, आफ्नो जोडीप्रति प्रेम दर्शाउन सामाजिक सञ्जालको सहारा लिने गर्दछन् । अभिनेता प्रदीप खड्का आफ्नो जोडीप्रति प्रेम भाव व्यक्त गर्न सामाजिक सञ्जालमा बाक्लै आफ्नो तस्विरसहित प्रेमिल शब्द लेखेर पोस्ट्याइरहेका हुन्छन् ।

सोमबार इन्स्टाग्राममा ‘राइनो लेदर’ को ज्याकेट लगाएको आफ्नो एक तस्विर साझेदार गर्दै उनले लेखेका छन्, ‘जब उनी भन्छिन् कि तिमी पागल हौं, म तिम्रो लागि भएको हुँ भन्छु ।’ यसबाट अभिनेता प्रदीप कसैको गहिरो प्रेममा रहेको बुझ्न सकिन्छ । आफू सिंगल रहेको बताउन नछाड्ने उनले इन्स्टाग्रामको माध्यमबाट आफू कसैको प्रेममा पागल समेत भएको भन्न खोजेका छन् ।

फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ रिलिजताका अभिनेता प्रदीप अभिनेत्री जसिता गुरुङको प्रेममा रहेको चर्चा थियो । तर, उनीहरुले यो कुरा कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको भन्दै रेडिमेड जवाफ फर्काइरहे । ‘लभ स्टेशन’ को असफलतापछि भने प्रदीप र जसिताको ब्रेकअप भएको चर्चा छ। यस विषयमा पनि दुवै मौन छन् ।

अहिलेका डिमान्डेड अभिनेतामध्ये एक प्रदीप गएको ६ महिनायता फिल्म ‘प्रेमगीत ३’ को काममा व्यस्त छन् । अब केही प्रतिशत मात्र छायांकन हुन बाँकी यो फिल्ममा उनी तेस्रो पटक ‘प्रेम’ बनेर दर्शकमाझ आउँदैछन् । फिल्ममा उनको जोडी नव अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । चैत २८ गते प्रदर्शन हुने यो फिल्मको गएको २० दिनयता मनाङमा छायांकन भैरहेको छ ।

प्रकाशित मिति January 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।