सन्दीपले साग यस कारण नखेल्ने

पाेखरा १० मंसिर- नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले १३ औं सागले गुमाउने भएका छन् । सन्दीपको मंगलबार आँखाको शल्यक्रिया गरिएको थियो । सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । नेपाली टोलीका व्यवस्थापक सुमनराज कार्कीले सन्दीप नखेल्ने निश्चित भएको बताए ।

सन्दीपले शल्यक्रियाका कारण दुई साता आराम गर्नुपर्नेछ । सन्दीपले यस बारेमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेल पठाएर जानकारी गराइसकेको बताइएको छ । क्यानले उनलाई मेडिकल रिपार्ट पेस गर्न भनेको छ । सन्दीपको स्थानमा मध्यपंक्तिका ब्याट्सम्यान रोहित पौडेललाई राखिने लगभग निश्चित भइसकेको छ ।

याे पनि पढ्नुहाेस्ः
सागलाई ८३ होटल बुक

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो लागेपछि त्यहीअनुसार साग सुरक्षा व्यवस्था मिलाइएको बताए । प्रवक्ता पोखरेलले भने, ‘नेपालको प्रतिष्ठासँग जोडिएको प्रतिष्ठित खेलकुद आयोजनालाई सुरक्षित, व्यवस्थित र त्रुटीरहित ढंगले सम्पन्न गर्न हाम्रो तर्फबाट कुनै पनि कसर बाँकी राखिने छैन ।’

मंसिर १५ देखि २४ सम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा आयोजना हुने सागमा नेपालसहित दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका खेलाडीले भाग लिने छन् । गृहका अनुसार ३ हजार २ सय २८ खेलाडी, २ सय २९ रेफ्री, प्रशिक्षक/पदाधिकारी सहभागी हुने छन् । खेलाडीसहितका पाहुना राख्न युवा तथा खेलकुद मन्त्रालयले ४ जिल्लामा ८३ होटल बुक गरेको छ । यद्यपि पाहुनाको चाप हेरेर बुक भएका होटले संख्या तल माथि पर्नसक्ने मन्त्रालयले जनाएको छ । बुक गरिएका होटलमध्ये काठमाडौंमा ३१, ललितपुरमा ६, पोखरामा ४३ र जनकपुरमा ३ वटा छन् । तर बुकिङ संख्याबारे मन्त्रालयले आधिकारिक रूपमा जानकारी गराएको छैन ।

दर्शकले हुटिङका क्रममा पानीका बोतल फ्याँक्ने भएकाले पोखरेलले खेलस्थल सुरक्षित राख्न बोतललगायत केही सामान लैजान निषेध गरिने बताए । ‘विगतमा कतिपय प्रतियोगिता आयोजनाका क्रममा हुँटिङ हुदा पानीका बोतल प्रहार गर्ने गरेकाले त्यसबाट पाठ सिकेर यसपालि व्यवस्थित गर्न खोजिएका हौं,’ उनले भने । खेलस्थल प्रवेशअघि अनधिकृत वस्तुको प्रवेश निषेध गर्न ‘मेटल डिटेक्टर’ (सुरक्षा जाँच उपकरण) समेत जडान गरिने छ ।

पाहुना बस्ने होटल टुंगो लागेसँगै गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई खेलाडी, खेलस्थल, होटल तथा विमानस्थलदेखि होटल र होटलदेखि खेलस्थलसम्म आवश्यकताअनुसार सुरक्षा रणनीति अपनाउन निर्देशन दिएको छ । श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट केही खेलाडी तथा पदाधिकारी आइसकेका छन् । खेलकुद मन्त्रालयले यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अध्यक्षतामा साग सुरक्षा समिति गठन गरिसकेको छ ।

यसका लागि सुरक्षा निकायले आवश्यक समन्वय गर्ने मन्त्रालयले जनाएको छ । साग सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशन समितिसहित १८ छुट्टाछुट्टै समिति गठन गरिएको छ । त्यसमध्ये आवास, सुरक्षा, अतिथि सत्कारलगायत १५ विषयगत समिति छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार साग सुरक्षाका लागि करिब १६ हजार सुरक्षाकर्मी तैनाथ गरिने छ । ‘साग आयोजनाका लागि स्टेकहोल्डर निकायबीचको सहकार्य र समन्वयका आधारमा चुस्त र प्रभावकारी व्यवस्थापन भइरहेको छ,’ शर्माले कान्तिपुरसँग भने, ‘त्यसमध्ये महत्त्वपूर्ण पक्ष सुरक्षा व्यवस्थापन रहेकाले यसमा कुनै कमजोरी हुन नदिन चारवटै निकायलाई व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गरिएको छ ।’

प्रहरी प्रवक्ता पोखरेलले साग सुरक्षामा प्रहरीबाट मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने बताए । बाँकी करिब ६ हजार सुरक्षाकर्मी सेना, सशस्त्र र अनुसन्धान विभागबाट खटिने छन् । सागमा सदस्य राष्ट्रबाट उच्चपदस्थ अधिकारीसमेत आउनसक्ने आँकलन गर्दै सवारी, सुरक्षा र वासस्थानको वैकल्पिक व्यवस्था समेत चुस्त पारिएको खेलकुद मन्त्रालयका एक अधिकारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा खेलाडीसहित सागमा आउने पाहुनालाई सहजीकरण गर्न आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरिएको छ । खेलकुद मन्त्रालय र अध्यागमनका अधिकारीसम्मिलित हेल्प डेस्कबाट सागका पाहुनाको मात्रै आवागमनसम्बन्धी कागजपत्र हेरिनेछ ।

याे पनि पढ्नुहाेस्ः
माल्दिभ्स क्रिकेट आज आउँदै

माल्दिभ्स क्रिकेट टिम १३ औं सागमा भाग लिन मंगलबार काठमाडौं आउने भएको छ । सागमा प्रतिस्पर्धा गर्न काठमाडौं आउन लागेको पहिलो टोली हो । स्रोतका अनुसार माल्दिभ्स मंगलबार बिहान आइपुग्नेछ ।

माल्दिभ्सले बुधबार नेपालसँग अभ्यास खेल्ने तालिका छ । पुरुष क्रिकेटका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदै छ । पुरुषतर्फ नेपाल, श्रीलंकासहित बंगलादेश माल्दिभ्स र भुटान तथा महिलातर्फ नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिनको प्रतिस्पर्धापछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । तेस्रो र चौथो कांस्य पदकका लागि खेल्ने छन् ।

पुरुष क्रिकेट मंसिर १७ मा सुरु भई २४ मा सकिनेछ । श्रीलंकासँग मंसिर १७ मा खेलेर सागको प्रारम्भ गर्ने नेपालले पुरुषतर्फ मंसिर १९ मा भुटान, २० मा माल्दिभ्स र २१ मा बंगलादेशसँग खेल्ने छ ।

याे पनि पढ्नुहाेस्ः
स्वर्णको ह्याट्रिक उपलब्धि

तेस्रो दक्षिण एसियाली खेलकुदलाई सम्झँदा नेपालको दृष्टिकोणले अगाडि आउने एकमात्र नाम हो, म्याराथन धावक वैकुण्ठ मानन्धर । पहिलो र दोस्रो संस्करणमा पनि स्वर्ण जितेको उनले तेस्रोमा पनि स्वर्ण नै जिते । आत्मसात् गरे ऐतिहासिक उपलब्धि । यो किन पनि अद्वितीय रह्यो भने यसै क्रममा म्याराथनमा बनेको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । मानन्धरले निकालेको समय थियो, २ घण्टा १५ मिनेट ०३ सेकेन्ड ।

भारतले पहिलोपल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको वर्ष सन् १९८७ मा हो । त्यतिबेला आयोजक थियो, पश्चिम बंगालको प्रसिद्ध सहर कोलकाता । हुगली नदीको छेउमा रहेको सहर त्यतिबेला ‘कलकत्ता’ नामले परिचित थियो । नोभेम्बर २० देखि २७ सम्म आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा समावेश गरिएको खेलसंख्या बढेर १० पुगेको थियो । यसरी यो प्रतियोगिताको इतिहासमा समावेश खेलको संख्याले दोहोरो अंक छोएको पहिलोपल्ट हो ।

प्रतियोगितामा समावेश एथलेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, कबड्डी, टेबलटेनिस, भलिबल, भारोत्तोलन र कुस्ती थिए । बास्केटबल, टेबलटेनिस र भलिबल पहिलोपल्ट समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बैंकटरमनले गरेका थिए । मुख्य आयोजनास्थल थियो, प्रसिद्ध साल्टलेक स्टेडियम । यो भारतकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला हो ।

भारत आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै एकछत्र प्रभुत्व कायम राख्न सफल रह्यो । भारतले प्रतियोगिताका कुल १ सय १६ स्वर्णमध्ये ९१ आफ्नो नाममा लेखायो । भारतले टिमका रूपमा प्रतिस्पर्धा भएका सबै विधामा स्वर्ण हात पारेको थियो । नेपालका लागि बक्सिङमा पनि स्वर्ण प्राप्त भयो, दलबहादुर रानामगरबाट । एथलेटिक्समै फर्कन हो भने नेपालले एक स्वर्णमात्र होइन, ५ कांस्य पनि जितेको थियो ।

दलबहादुरले भने दक्षिण एसियाली खेलकुदमा दोस्रो व्यक्तितग स्वर्ण जित्ने क्रममा बंगलादेशका मोहम्मद अब्दुललाई फाइनलमा पराजित गरे । पुष्करध्वज शाही लगातार तेस्रोपल्ट फाइनल पुग्न सफल रहे । तर यसपल्ट उनी फाइनलमा पराजित रहे । यो खेलको फाइनलमा पराजित हुने खेलाडी थिए, रामबहादुर गिरी, चित्रबहादुर गुरुङ र विजय देउजा । मनोजबहादुर शाही, शम्भु बिक, लालबहादुर बिक, सुशील पोखरेल र कुमार थापाले कांस्य हात पारे ।

फुटबलमा नेपालले फाइनल यात्रा तय गर्न सफल रह्यो । साल्टलेक स्टेडियममा भएको फाइनलमा नेपाल भारतको हातबाट १–० ले पराजित रह्यो । खेलको एकमात्र गोल मोहम्मद फरिदाले गरेका थिए । त्यो खेल हेर्न साल्टलेकमा एक लाख दर्शक उपस्थित थिए । नेपालले खेलमा बलियो चुनौती पेस गरेपछि भाग्यले साथ दिएन । प्रतियोगितामा पहिलो समावेश गरिएको टेबलटेनिसबाट २ रजत र ४ कांस्य प्राप्त भयो ।

मिक्स डबल्समा सिजरिन शाह र धर्ममान वज्राचार्यले रजत दिलाए । महिला टिम स्पर्धाबाट पनि रजत आयो । पुरुष टिम स्पर्धामा भने तेस्रो स्थान । कांस्य जित्नेमा मेन्स डबल्समा धर्ममानसँगै अमन चित्रकार, वुमेन्स डबल्समा सिजरिन र गीता क्षेत्री तथा वुमेन्स सिंगलमा फेरि सिजरिनले कांस्य पदक जिते । भारोत्तोलनबाट फेरि एकपल्ट नेपाल धेरै संख्यामा पदक जित्न सफल रह्यो । नेपालले १९ कांस्य जितेको थियो त्यस खेलबाट ।

प्रकाशित मिति November 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।