सुरु भो ‘लोकस्टार’ पुरूस्कार ५० लाख

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले करसहित क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को प्रसारण ः असार ५ गतेबाट सुरु हुने भएको छ। जेठ २५ देखि प्रसारण हुने भनिए पनि प्राविधिक तयारी पूरा नभएपछि कार्यक्रम दुई हप्ता पछि सरेको हो। सात प्रदेशमा भएको अडिसनबाट ३ सय ६३ जना प्रतिस्पर्धी मेगा अडिसनका लागि छनोट भएका थिए। मेगा अडिसनबाट ९० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन। यिनै प्रतियोगी पहिलो लोकस्टारको उपाधिका लागि भिडन्त गर्नेछन्। चाहना मिडियाले कार्यक्रमको आयोजना गरेको हो। देशका सातै प्रदेशमा गुञ्जिने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने आयोजकले बताएको छ। ३० वटा शृंखला प्रसारण हुने कार्यक्रममा एकतीसौँ शृंखला अन्तिम हुने अायोजकले बताएको छ ।

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ट ५० सम्म निर्णायकको हातमा रहनेछ। उत्कृष्ट ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा आधारित रहनेछ। ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा आधारित हुनेछ। उत्कृष्ट २० बाट १० सम्म ५० प्रतिशत निर्णायक र ५० दर्शकको भोटिङमा आधारित हुनेछ। उत्कृष्ट १० बाट फाइनलसम्म दर्शकको भोटको आधारमा लोकस्टारको छनोट हुनेछ। प्रथम, दोस्रो र तेस्रो हुनेले करसहित क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन्। प्रतियोगितालाई अशोक धिताल र शुभेच्छा खड्काले सञ्चालन गर्नेछन्।

प्रकाशित मिति June 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।