सलमान खानको फिल्म गर्दै सुनिल

पोखरा १७ कात्तिक- खलपात्रको भूमिकामा निकै रुचाएका कलाकार सुनिल थापाले तीन सयको आसपासमा नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले नेपालीसँगै बलिउड फिल्ममा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए ।

सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन् ।

पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए । यो फिल्मपछि उनले बलिउड फिल्म गरेका छैनन् । अहिले उनी नेपाली फिल्ममा व्यस्त छन् । उनले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन् ।

बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्ने यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । सलमानका ज्वाईं आयुष शर्माको प्रमुख भूमिका रहने फिल्मलाई करण भुटानीले निर्देशन गर्दैछन् ।

सुनिलले फिल्म गर्ने विषयमा मौखिक सहमति भए पनि लिखित सम्झौता नभएको बताए । उनी चाँडै मुम्बई गएर कागजी रुपमा फिल्म सम्झौता गर्ने सोचमा छन् ।

जनवरीदेखि ‘क्वाथा’ को छायांकनमा व्यस्त हुने उनले बताए । त्यसअघि उनले तीन नेपाली फिल्मको छायांकन भ्याउनेछन् ।
आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको उनको भनाई छ । यो फिल्मको नेपालमा छायांकनका लागि आफूले पहिले गरिरहेको पनि सुनिल थापा बताउँछन् ।

उनी भन्छन्, ‘फिल्मको छायांकन थाइल्यान्डमा गर्ने तयारी भइरहेको रहेछ, मैले युनिटलाई छायांकनका लागि नेपाल आउने प्रस्ताव गरेको छु । यो हुन सकेको खण्डमा नेपालको पर्यटन प्रवर्द्धन पनि हुनेछ ।’

प्रकाशित मिति November 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।