काठमाडौँ ओर्लिए चिनियाँ राष्ट्रपति सी

पाेखरा २५ असाेज- राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन्। राष्ट्रपति सी २ दिने राजकीय भ्रमणका लागि शनिबार ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा आएको थियो। शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको हो। नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको तमिल नाडुस्थित मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ४० मिनेट छलफल गरेका थिए।

चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन्। राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन्।

स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो। चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार
अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार
बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।