फिल्म समीक्षा : “छक्का पन्जा” कै परिष्कृत रूप

पाेखरा २५ असाेज— फिल्म ‘छ माया छपक्कै’ । दीपेन्द्र लामाले आफ्नै कथामा निर्देशन गरेको उक्त फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा छ । लामाको कप्तानीमा जोडिएका छन्, यसअघि ‘छक्का पन्जा’ सिरिजबाट मनग्गे दर्शक कमाइसकेको दीपक–दीपासहितको टिम । हास्यप्रधान फिल्मबाट आफूलाई स्थापित गराइसकेका दीपक–दीपा यतिबेला ‘छ माया छपक्कै’ मार्फत् सामाजिक मुद्दामा अझ बढी केन्द्रीकृत भएका छन् । फिल्म पानीको दु:ख, राजनीतिक वितृष्णा र माया मोहमा अन्तरसम्बन्धित छ ।

पानीमाथिको राजनीतिमा विश्वमा धेरै फिल्म बनेका छन् । सन् १९२१ मै ल्यामबर्ट हिलयरको ‘थ्री वर्ड ब्रान्ड’ होस् वा रोबर्ट ब्राटबरीको सन् १९३३ को ‘राइडर्स अफ डेस्टिनी’ । अथवा, जोसेफ कानको सन् १९३६ को ‘किङ अफ द पिकस’, डिक क्लेमेन्टको ‘वाटर’ सबै फिल्मको केन्द्रीय द्वन्द्व पानीमा नै केन्द्रित छन् । पानी संकट र यसमाथिको राजनीति नयाँ पनि हैन र पुरानो भएको पनि छैन । सन् २०१० मै द हग्स ब्रदर्सले बनाएको फिल्म ‘द बुक अफ इली’ को मुख्य कथा पनि पानीमाथिको स्वामित्व लडाइँलाई नै लिएर छ । ‘क्वान्टम अफ सोलेस’ वा ‘ब्याटम्यान बिगिन्स’ ले पनि कतै न कतै पानीकै कथालाई उठाएको पाइन्छ । नेपालमा भने बलिउडको धङधङीबाट माथि उठेर फिल्ममा बल्ल सामाजिक मुद्दा उठ्न थालेका छन् । ‘छ माया छपक्कै’ पछिल्लो उदाहरण हो ।

फिल्मले घडेरी गाउँको विशेष समस्यालाई समग्र देशको राजनीतिक, सामाजिक परिदृश्यमा सामान्यीकरण गर्ने प्रयास गरेको छ । कम्युनिस्ट राजनीतिलाई नै मूल कर्म बनाएर दत्तचित्त लागेको एक बाबु, छोरालाई पनि क्रान्तिकारी बनाउन चाहन्छ । उता, छिमेकी टोड्के गाउँसँग राजनीतिक दुश्मनी चर्को छ । तर त्यही गाउँकी अध्यक्षकी छोरी जल (केकी) बीपीको जीवनमा मायाको अर्को युद्ध लिएर छिर्छे । बाबुले पानीका लागि राजनीतिको सहारा लिइरहँदा बीपीको उद्देश्य पनि गाउँमा पानी ल्याउने नै छ तर यसका लागि घृणा र द्वन्द्वको सट्टा छिमेकीसँग प्रेमको हति*यार प्रयोग गर्छ ।

‘छक्का पन्जा’ सिरिजमा पनि कहिले वैदेशिक रोजगारी त कहिले डिपेन्डेन्ट भिसामा बिदेसिनेका कथा नभनिएका हैनन् । तर ती फिल्मको हास्य प्रस्तुतिको ओझेलमा परे । अथवा, ती फिल्म विषयप्रधान भन्दा हास्यप्रधान भइदिए । यस सिरिजका अधिकांश दर्शकले पनि ‘छक्का पन्जा’ लाई पनि यसैगरी बुझ्दै आएका छन् । तर त्यही बुझाइमा ‘छ माया छपक्कै’ हेर्न गएमा हाँसोको पारो त्यही तहमा नपाउन सक्छन् । सोझै भन्दा, ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरिसकेका दीपेन्द्रको प्रवेशको असर पनि हुन सक्छ, यसपटक जबरजस्ती हसाउनकै लागि अनुप्रास मिलाइएका र टुक्का जोडिएका संवादको उतिसारो प्रयोग गरिएको छैन । उसो त पटकथा दीपकले नै तयार पारेका हुन् । यस अर्थमा, दीपक समूहले पनि आफूलाई परिपक्व बनाउँदै लगेको छनक पाइन्छ ।

फिल्मले राजनीतिलाई पूर्णत: नकारात्मक दृष्टिकोणबाट व्याख्या गर्छ । दीपेन्द्र निर्देशित फिल्मले गाउँमा चलिरहेको दलीय राजनीतिको बदख्वाइँ गर्दै गाउँ विकासमा दलको भर पर्न नहुने सन्देश दिन्छ । जानेर वा नजानेरै फिल्मले एक दलीय पञ्चायती व्यवस्थाको पक्षपोषण गरेको भान हुन्छ । अर्कोतर्फ, ‘छक्का पन्जा’ सिरिजमा महिलामाथि कटाक्ष गरेको भन्दै चर्को विरोध झेल्दै आएका दीपक–दीपा समूहले यसपटक ‘छ माया छपक्कै’ मा सायद त्यसको सामना गर्नुपर्ने छैन । बरु धेरथोर महिला पात्रलाई सकारात्मक रूपमै उभ्याएका छन् ।

सामाजिक र सामयिक कथा उठान गरेको फिल्मले पटकथाको मूल द्वन्द्वमा पानी संकटलाई त प्रस्तुत गरिएको छ नै, द्वन्द्वलाई चर्काउने सहायक कथाहरूलाई मजबुत बनाउन समय खर्चिएको छैन । बीपीकै दलबाट बारम्बार नेता चुनिएर गएपनि घडेरी गाउँको पानी समस्याप्रतिको उसको उदासिनता र चुनावमा सोही गाउँका मतदाताको अहंभूमिकाबीचको रस्साकसीलाई सतहमा मात्रै उठाएर मायामोहको चक्करमा बढी ढल्कन पुगेको छ । फिल्मका कतिपय दृश्य ‘क्लिसे’ र पात्रहरू फजुल लाग्छन् ।

बीपीका जँड्याहा काका, जलका दाजु, बुबा, प्रवीण (जितु) र उसकी प्रेमिकाको भूमिकालाई थप मजबुत बनाउन सकेको भए सुनमा सुगन्ध हुन सक्ने थियो । ‘छ माया छपक्कै’ दीपक–दीपाको ‘छक्का पन्जा’ सिरिजको परिष्कृत रूप हो । तर अझै पनि यसका कलाकार दीपक, जितु वा केदारले आफ्ना चरित्र चित्रणमा नयाँपन दिन सकिरहेका छैनन् । गीत, संगीत फिल्मको धारअनुकूल बन्न र ‘प्लेसिङ’ उचित हुन सकेको छैन ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।