सिन्धुपाल्चोक बस दुर्घटनाका घाइते भन्छन्- ‘रूखमा अड्किएर बाँचें’

(सिन्धुपाल्चोक) —‘रूखमा अड्किएर बाँचें’
छविलाल भट्टराई, घाइते (टेकनडाँडा, सिन्धुपाल्चोक)

काठमाडौंमा डेरा गरी बस्दै आएको म दसैं मान्न गाउँ गएको थिएँ । शुक्रबार काठमाडौं फर्किन बिहान ६ बजेदेखि गाडी कुरेँ । निकै बेरपछि बस आयो । छतसमेत भरिभराउ थियो । ढोकामा पनि मान्छे झुन्डिएका थिए ।

म एक्लै भए त ढोकामै झुन्डिन्थें । साथमा दिदी, दुइटी भान्जी, मीत छोरा पनि थिए । दिदी कोच्चिएर बसभित्र पस्नु भो । म भान्जी लिएर छतमा चढें । छतमा पनि लगभग ५० जना थिए । कोच्चिएर बसेका थियौं । कच्ची बाटोले हो या मान्छे धेरै भएर हो, बस ढलमल गरेर गुडिरहेको थियो । अब मान्छे नहाल भन्दै ड्राइभरलाई गाली पनि गर्‍यौं । हामी चढेको ठाउँबाट बस एक किलोमिटर पर पुगेको मात्रै थियो, केही पड्किएजस्तो आवाज आयो । खलासी ‘टायर पन्चर भयो’ भन्दै ओर्लियो, बस भने गुडिरह्यो । एकछिनपछि ड्राइभरले ‘गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हाम्फल्नुस्’ भन्यो ।

सबै जना रुन–कराउन थाले । म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले ।
मैले भान्जीलाई ‘केही हुन्न हामी पनि हाम फालौं’ भनें । हामफाल्यौं । म कोइरालोको रूखमा अड्किएँ । बस भीरैभीर खस्यो । धेरै तल रूखमा गएर अड्कियो । रूखबाट ओर्लिएँ । दिदी र भान्जी खोज्न थालें । मेरो छाती र खुट्टा बेस्सरी दुखिरहेको थियो । बस नजिकै जाँदा कोही रूखले थिचिएका थिए, कोही रगताम्य भएर केही नबोल्ने भइसकेका थिए । कसलाई उठाउँ, कसलाई छोडौं जस्तो भयो । अत्तालिएँ । बोल्नै नसक्ने भएँ ।

रिंगटा लाग्यो । दिदी बस अगाडि पछारिएकी थिइन् । घाइतेहरू छट्पटाइरहेका थिए । एकैछिनमा उद्धारकर्मी आएर उठाउन थाले । दिदीको करङ र खुट्टा भाँचिएको छ । मीत छोरा बितेछन् । मलाई भतिजले मोटरसाइकलमा हालेर ट्रमा सेन्टरमा ल्याए । छाती र कम्मर मुनिको भाग दुखेको छ । धन्न दैवले बचाए ।

छानबिन गर्न कांग्रेसको माग- प्रमुख प्रतिपक्षी कांग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल छानबिन कार्यदल गठन गरी त्यस्ता घटनाको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसले बसमा क्षमताभन्दा बढी यात्रु चढ्न दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारीसाधन सञ्चालन गर्नुभन्दा अगाडि जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन यथाशीघ्र आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ । देउवाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेसले घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।