जंगलको कथा सुनाउने सारङ्गी बादक (भिडियो)

पोखरा १९ असोज- १ हातमा सारङ्गी अर्कोमा अरबाज हरेक दिन गाँउदेखि शहरका घरघर पुग्ने अनि धुन सुनाउने व्यस्तता । पछिल्ला दुई महिनादेखि कलाकार दिलु गन्धर्वको दैनिकी व्यस्त छ । उनी मानिसको भीड देख्यो कि सारङ्गी बजाउन सुर गर्छन् ।

कुनै बेला माया पिरतीको कथा व्यथा सुनाउने दिलुले आज भोलि वन र वन्यजन्तुप्रतिको प्रेमका गीत सुनाउँदै हिँड्ने गरेका छन् । हरेक घरमा पुग्छन् अनि चलेका भाकामा जंगलको कथा सुनाउँछन् । धुनसंगैको उनको गीतले जो कोहीलाई मोहीत बनाउँछ । सारङ्गीको धुनमा उनले चोरी शिकार नियन्त्रण सम्बन्धी ‘ वनको कथा’ सुनाउँदै हिँड्ने गरेका छन् ।

उनी बाघ, भालु, गैँडा जोगाउनुपर्छ भन्दै गाँउको घरदैलोमा पुगेर गीत मार्फत सचेत बनाउँछन् । वन्यजन्तुको संरक्षणमा आधारित गीतमा कसैले चासो नदिए उनले चलेको भाका सुनाएर ध्यान तान्छन् । वन्यजन्तु अपराधमा लागेर सजाय भोगेकाहरुको अनुभव छ उनको गीतमा । वन्यजन्तुको अवैध व्यापारमा लाग्नु हुन्न भन्ने गीतको भाव हो । पैसाको लोभमा जीवन बर्बाद भएकाहरुको कथा उनी गीतमा सुनाउँछन् ।

कथा सुनाउने अभियानमा दिलुसंगै कुमार पौडेल पनि छन् । पौडेलले संरक्षणका कथालाई संगीतमा जोड्न दिलुसंगै उनको सारङ्गीलाई प्रयोग गरेका हुन् । सारंगीका धुन सबैले मन पराउने कारण यसैमा संरक्षणको गीत तयार गरिएको दिलुले बताए । दुई महिनादेखि मध्यनेपालको संरक्षित क्षेत्र जोगाउने अभियानमा उनीहरु सक्रिय छन् ।

सजायलाई अवमूल्यन गरेर अपराधमा संलग्न भएकाहरु पछि पछुताउने गरेका घटना समावेश गरिएको छ । वातावरण र वन्यजन्तु संरक्षणमा कार्यरत ‘ ग्रिनहुड नेपाल’ ले अभियान सञ्चालन गरेको हो ।

ग्रिनहुडले सात वर्षदेखि वन्यजन्तुको चोरी, शिकारी, व्यापारको अवस्था वारेमा अध्ययनर अनुसन्धान गरिरहेको छ । गीतमा नियम कानून र दण्ड जरिवानाको कुरा समेटिएको छ । यस्तै विषयमा पाँच गीत तयार भएको र तिनलाई रेडियोबाट प्रशारण गर्ने तयारी गरेको दिलु बताउँछन् ।

अभियानको क्रममा उनीहरू अहिले लाङटाङ र सिन्धुपाल्चोक पुगेर गीत सुनाएका छन् । चितवनको नारायणगढ, पदमपुर, सौराहा लगाएतको क्षेत्रमा उनीहरुले गीत सुनाउँदै हिँड्ने गरेका छन् । चोरी शिकारीको घटनास्थल र यसको नाका रहेको क्षेत्रमा उनीहरु पुगेका छन् । यसपछि पर्सा, गौरीशंकर लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा जाने उनिहरुको योजना छ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।