काठमाण्डौका मेयर शाक्यलाई डेंगी

काठमाण्डौँ १७ असाेज– तपाईंलाई डेंगी लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगी लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस् ! तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगी सर्न सक्छ। आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न सकिने विज्ञहरूले सुझाएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डेंगी नियन्त्रणसम्बन्धी छलफलका विज्ञ सहभागीले यस्तो उपाय बताएका हुन्।

काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगी भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उहाँलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो ।

उहाँलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा डेंगीको संक्रमण फैलिएको छ । डेंगीका कारण यो वर्ष सात जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् ।

एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।

कसरी सर्छ डेंगी ?
डेंगी भाइरस संक्रमित एडिस एजिप्टाई लामखुट्टेले टोकेमा सो संक्रमण हुन्छ। सेतो र कालो छिर्केमिर्के रङको यो लामखुट्टे सफा तथा स्थिर पानी जमेको भाँडामा बस्छ। यो लामखुट्टेले टोकेको सातदेखि १० दिनभित्र ज्वरो आउने, जिउ करकरी दुख्ने, आँखाको गेडा दुख्ने, वान्ता हुने, टाउको दुख्ने, शरीरमा रातो भाग देखिनेलगायत लक्षण देखिन्छ। यो लामखुट्टेले प्रायः बिहान तथा दिउँसो बढी टोक्छ। चार प्रकारका डेंगी भाइरस हुन्छन्। जुन भाइरसको संक्रमण भएको हो, त्यहीअनुसार फरकफरक असर हुन्छ। तर प्रकोप क्षेत्रमा फैलिरहेको लामखुट्टेले टोकेमा, प्रकोपको क्षेत्रमा जन्मेको बच्चामा, एउटै व्यक्तिलाई दुईपटक डेंगी भाइरसको संक्रमण भएमा कडा डेंगी हुन्छ। यस्तो अवस्थामा उच्च रक्तस्राव भएर मानिसको ज्यानसमेत जान सक्छ। डेंगी संक्रमणबाट हुने मृत्युदर भने कम छ।

डेंगी संक्रमणबाट बच्न के गर्ने ?
लामखुट्टेको टोकाइबाट बच्ने, अनाश्यक बाहिर ननिस्कने, शरीरको खुला भागमा लामखुट्टे भगाउन मलम लगाउने, घरवरिपरि सफा राख्ने, घरमा झ्याल–ढोकामा जाली राख्ने, घरवरिपरि टायर, ड्रम, बाल्टिन, बोटल, बट्टा, पानीको ट्यांकी खुला नराख्ने, शकांस्पद ठाउँका लार्भा खोजेर नष्ट गर्ने। याे समाचार नागरिक दैनिकबाट साभार गरिएकाे हाे । याे समाचार नागरिक दैनिकबाट साभार गरिएकाे हाे ।

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।