मादल बनाउदै घर चलाउदै अनिता

रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका र परदेशिएका बेला स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै छिन् ।

पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गरिरहेकी छिन । अनिताको दैनिकी बिहानदेखि साँझसम्म मादल बनाउने र खरी लगाउँदैमा बित्ने गर्छ ।

घरमा यत्तिकै बस्नुभन्दा काम गर्दा समय कटाउन सजिलो हुने उनले सुनाइन् । शुरुमा अप्ठ्यारो जस्तो भए पनि काम गर्दै जाँदा अहिले आएर कमाइको राम्रो माध्यम हुनेरहेछ भन्ने बुझेपछि यसैमा अभ्यस्त हुन थालेको अनिताको अनुभव छ।

दुई वर्षदेखि मादल बनाउँदै आएकी अनिताले मासिक रु २५ देखि रु ३० हजारसम्म कमाइ हुने बताउँछिन् । ‘काम भन्ने कुरा सानो ठूलो हुँदैन यतिकै बसेर अरूको कमाइको आश गर्नुभन्दा आफूले सकेअनुसारको काम गर्दा आवश्यक खर्च जुटाउन सकिन्छ’, अनिताले भनिन् ।

अनिताले यो पेशाबाट आफू सन्तुष्ट रहेको बताइन् । कमाउनकै लागि विदेश जानुभन्दा आफ्नै देशमा घर परिवार सँंगसंँगै बसेर सानोठूलो आफ्नो क्षमतानुसारको काम गर्न अनिताले आग्रह गरिन् ।

एउटा मादल रु तीन हजारदेखि रु पाँच हजारसम्ममा विक्री हुन्छ । उनको श्रीमान्ले ठेक्कापट्टाको काम गर्छन् । अनिताको काममा घर परिवारका सबैको सहयोग रहेको छ ।

प्रकाशित मिति May 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।