आफैले बनाएको मोटरसाइकलमा सरर कार्यालय पुग्छन् प्रहरी हवल्दार पूर्णबहादुुरर

नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डा. राजीव सुब्बा एकदिन प्रधान कार्यालय प्रवेश गर्दैगर्दा हवल्दार पूर्णबहादुर आले सवार वाहन देखेर टक्क रोकिए । आले साइकल जस्तो देखिने सवारी साधनमा थिए तर, पाइडल चलाइरहेका थिएनन् । सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि प्रहरी नायब महानिरीक्षक सुब्बाले बुझ्दा त्यो हवल्दार आले आफैंले बनाएको ‘मोटरसाइकल’ रहेछ ।

प्रहरी प्रधान कार्यालयको विद्युत् शाखामा कार्यरत् आले अण्डर एसएलसी हुन् । तर, लगाव, निरन्तरको मेहनत र न्यूनतम स्रोतको प्रयोगबाट मोटरसाइकल बनाएका रहेछन् । त्यस दिनबाट डीआईजी सुब्बा आफू मातहत अधिकृतहरुलाई भन्ने गर्छन्, ‘तपाईंहरुले जागिर खानु भयो, उसले काम देखायो।

तनहुँको भानु नगरपालिका, चिसापानीका आलेलाई बुबाको अनुहार याद छैन । सानैमा बाबुविहीन बनेका उनले १८ वर्षको छँदा आमा पनि गुमाए । घरमा दुःख थियो । जसोतसो सावा अक्षर चिन्नेसम्म भएपछि उनी नेपाल प्रहरीमा भर्ना भए ।

दाजुहरु प्रहरीमा भएकाले आफू पनि त्यतै लागेको उनी बताउँछन् । दाजुहरु वैदेशिक रोजगारीमा जाउँ भन्थे तर, उनलाई नेपालमै बस्न मन लाग्थ्यो । ‘अनि २०६१ सालमा प्रहरी तालिम केन्द्र, भरतपुरमा प्रहरी जवान पदका लागि आवेदन दिएर भर्ना भएँ’, हवल्दार आले भन्छन्, ‘त्यसपछि त परिवारका पाँचै दाजुभाइ प्रहरी भइयो ।’

मजदुरीबाट गुजरा चलाउँदा उनले सानै उमेरमा विद्युतीय उपकरण मर्मत तालिम लिएका थिए । गाउँमा उनले धाराबाट विजुली बत्ती बालेका थिए । ‘एक दिन हिँडेर डुंग्रे बजारबाट २५ रुपैयाँको डाइनामो लगेर बत्ति बालेको थिएँ’, आले सम्झन्छन्, ‘त्यो बेला सिकेको सिपले जागिरमा पनि सजिलो भयो ।

घरको आर्थिक समस्याका कारण पूर्णबहादुर आलेले औपचारिक शिक्षा नपाए पनि उनी विद्युतीय उपकरणप्रतिको रुचीमा निरन्तर घोत्लिरहे । त्यही रुचीको परिणाम हो, १२ भोल्टको चारवटा ब्याट्रीबाट चल्ने मोटरसाइकल ।

एक दशकभन्दा लामो प्रयासबाट उनले गुडाएको मोटरसाइकलमा चार्ज सकिँदा प्रयोग गर्न पाइडल पनि राखेका छन् । पाइडल चलाउँदा मोटरसाइकल गुड्नुको साथै ब्याट्री रिचार्ज पनि हुन्छ ।

हवल्दार आले कपनको कोठाबाट नक्सालस्थित कार्यालय आउजाउ यही मोटरसाइकलमा गर्छन् । यो मोटरसाइकल बनाउन कुल एकलाख २० हजार खर्च भएको उनले बताए ।

यो ‘आविष्कार’का लागि गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबाट प्रोत्साहन पुरस्कार पनि पाएको हवल्दार आलेले सुनाए । उनी भन्छन्, ‘पहिला मोटरसाइल बनाउने टाक्टाक् टुक्टुक्बाट दिक्क मानेकी श्रीमती पनि अहिले खुशी छन् ।’

त्यस्तै नेपाल प्रहरीको सञ्चार निर्देशनालयले रोबोट बनाउने योजनामा हवल्दार आलेलाई पनि सामेल गराउन लागेको छ ।

गौरव पोखरेल/अनलाइनखबर

प्रकाशित मिति May 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।